बिमा कम्पनीबीचको स्वस्थ्य प्रतिस्पर्धाले ग्राहकलाई नै फाइदा हुन्छ

सञ्चित वज्राचार्य,

प्रमुख कार्यकारी अधिकृत,  प्रभु इन्स्योरेन्स लिमिटेड

सञ्चित बज्राचार्य लामो समयदेखि प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ ) को जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी यही इन्स्योरेन्समा करिब एक दशकदेखि कार्यरत छन् । बिमा क्षेत्रमा लामो अनुभव सँगालेका बज्राचार्यसँग यस क्षेत्रका चुनौति, अवसर, आगामी योजना लगायत विषयमा गरिएको कुराकानी :

बिमा कम्पनीको संख्या बढेका छ तर बिमा गर्ने भने बढ्न सकेका छैनन । किन यस्तो भएको होला ?
धेरै नेपालीले बिमा किन गरिन्छ भन्ने कुरा नै बुझेका छैनन् । सबैभन्दा पहिले बिमाको आवश्यकता बारे बुझ्न जरुरी छ । आर्थिक उन्नतिका लागि पनि बिमा गर्न जरुरी छ ।व्यापार–व्यवसाय गर्दा नाफा नभए पनि घाटा नहोस् भन्ने तर्फ सचेत हुनुपर्छ । व्यवसाय गर्दा कुनै पनि बेला विपत्ति निम्तिन सक्छ र त्यसले घाटा हुनसक्छ । त्यस्तोबाट आफ्नो व्यवसाय जोगाउन बिमा गर्नुपरेको हो ।

बिमा प्रतिको आमधारणा के छ ?
बिमालाई नकारात्मक सोच्ने गरिएको छ । त्यस्तो सोचाइमा परिर्वतन आउन जरुरी छ । पछिल्लो समय बिमा प्रतिको सोचाइमा केही परिवर्तन आएको छ । सकारात्मक सोचाइ राख्नु जरुरी छ ।
बिमाको फाइदाबारे बुझाइको कमी हो ?
बिमालाई जसरी बुझ्नु पर्ने त्यसरी बुझ्ने काम भएको छैन। नयाँ पुस्ताले केही बुझ्न कोसिस गरेका छन् । केहीले बुझिरहेका पनि छन् । तर, पर्याप्त बुझ्ने काम भएको छैन् ।
तपाईंको विचारमा के गर्दा बिमा बारे बुझाउन सकिन्छ जस्तो लाग्छ ?
नकारात्मक रूपमा बुझेकालाई सकारात्मक रूपमा बुझ्न आग्रह गर्दछु । सकारात्मक रूपबाट बुझ्नका लागि शिक्षामा जोड दिनुपर्छ । विश्वविद्यालयमा गएर बिमा बारे बुझेर मात्र पनि हुँदैन । अहिले उच्च शिक्षा हासिल गर्दा बिमा विषय पढ्नेले मात्र बिमाको महत्त्व बुझ्ने गरेका छन् । प्राथमिक तहमा पढ्ने विद्यार्थीले बिमाको महत्त्वबारे पढ्न र बुझ्न पनि पाएका छैनन् ।          त्यसैले प्राथमिक तहदेखि नै बिमाको महत्त्वबारे पाठ्यक्रममै अनिवार्य व्यवस्था गर्न जरुरी छ । नयाँ पिढीले बिमाबारे प्राथमिक तहमै पढ्ने व्यवस्था गरिनुपर्छ ।
अहिले बिमा गर्न कस्ता खालका मानिस बढी आउँछन् ?
बिरामी मान्छे डाक्टरकोमा नगई निको नहुने भएपछि उपचारका लागि डाक्टरकोमा पुगेजस्तै बिमा नगरी नहुने भएपछि मात्र बिमा कम्पनी जाने चलन छ । बैंकबाट ऋण लिनका लागि बिमा नगरी नहुने जस्तो अवस्थामा मात्र बिमा गर्ने चलन अझै छ ।    बिमा कम्पनी प्रति नकारात्मक धारणा बनाएकाले त्यस्तो भएको हो । कम्पनीका सकारात्मक पक्ष धेरै छन् । तर, सकारात्मक पक्ष लुकेर बसेका छन्, नकारात्मक पक्षमात्र बाहिर आएका छन् । बिमा कम्पनीले केही नराम्रो काम गरेका छन् भने त्यस्तो कुरा बाहिर आउनु पर्छ । त्यसलाई स्वाभाविक लिनुपर्छ । तर, बिमा कम्पनीले केही गल्ती गरेका छैनन् भने उनीहरूले गरेका राम्रा काम पनि बाहिर आउनु पर्छ ।
बिमा नगर्नुको कारण शिक्षाको कमीले गर्दा हो ?
विकसित देशमा बिमा नगर्ने कोही हुँदैनन् तर, हामी कहाँ त्यसको विपरीत बिमा गर्ने धेरै हुँदैनन् । बिमा गर्न विकसित देशमा भन्दा हाम्रोमा सस्तो छ तैपनि बिमा गर्न कोही तयार हुँदैैनन् । जति धेरैको बिमा भयो त्यसले व्यक्ति, समाज र अन्त्यमा मुलुकलाई नै फाइदा हुने हो । जस्तो, २०७२ सालको भूकम्पमा जसले बिमा गरेका थिए, उसले विपत्तिबाट हुने नोक्सानी बेहोेर्नु परेन । बिमा कम्पनीले जोखिम बेहोरेका थिए । बिमा गरेका कारण सरकारले पनि ठूलो नोक्सानी बेहोर्नु परेन । बिमा कम्पनीको महत्व त त्यतिबेला देखिएको थियो । त्यस्तो महत्त्वपूर्ण विषय अहिले पनि लुकेर बसेको छ । त्यसलाई उजागर गर्न जरुरी छ ।
तपाईंलाई बिमा गर्नुपर्छ भनेर चेतना जगाउने काम कसको हो जस्तो लाग्छ । बिमा कम्पनीको नै होइन र ?
बिमा कम्पनीले आफ्नै तरिकाले काम गरेका हुन्छन् । कम्पनीले ठूलो घेरा पार गर्न सक्दैनन् । बिमाबारे सचेतना जगाउन सरोकारवाला र सञ्चार माध्यमको भूमिका धेरै हुन्छ । त्यसमध्ये पनि सञ्चार माध्मयको भूमिका धेरै हुने गर्छ । सञ्चार माध्यमले लेखेको कुरा कुनाकाप्चामा पुग्छ । बिमा गर्दा व्यक्ति र मुलुकलाई नै फाइदा हुन्छ भन्ने खालको सन्देश दिन जरुरी छ ।
बिमा पहुँच वृद्धि भएर २१ प्रतिशत हाराहारी पुग्यो भनिन्छ, हो ?
बिमा गर्नुपर्छ भन्ने भावनाको विकास पहिले भन्दा केही बढी हुँदै आएको छ । तर, यो रफ्तारले पुग्दैन । यही अनुपातमा गएर कहिले गन्तव्यमा पुग्ने भन्ने मेरो भनाइ हो। यो अनुपात अझै बढ्नु पर्छ । निर्जीवन बिमा कम्पनीको संख्या २० पुगेको छ ।
नेपाल जस्तो सानो मुलुकमा यति धेरै कम्पनीको आवश्यकता हो कि होइन ?
बिमा कम्पनीबीच प्रतिस्पर्धा छ । स्वस्थ प्रतिस्पर्धा हुनु पनि पर्छ । अस्वस्थ प्रतिस्पर्धा हुनु भएन । स्वस्थ प्रतिस्पर्धाले ग्राहकलाई नै फाइदा पुयाउँछ ।
बिमा कम्पनी बढी भएनन र ?
बिमा कम्पनी बढी भए भनौं भने अझै बिमा गर्ने धेरै भएका छैनन् । अहिलेसम्म २१ प्रतिशत जनताको मात्र बिमा भएको छ ।
नागरिकको बिमा प्रतिको धारणा कस्तो पाउनु भएको छ ?
दैवीप्रकोपबाट क्षति भयो भने धन्य बिमा गरेछु र बचेँ भन्ने चलन छ ।  दैवीप्रकोप परेन भने त्यत्रो पैसा तिरेको बेकार भयो । त्यो पैसा बैंकमा राखेको भए कति ब्याज आउँथ्यो भन्ने सोचाइ छ । थोरै रकम तिर्दा पनि दैवीप्रकोप पर्दा ठूलो आर्थिक दायित्वबाट मुक्त हुन सकिन्छ भन्ने भावनाको विकास भएको छैन । विकसित देशमा थप आर्थिक व्ययभार नपरोस् भन्नका लागि बिमा गर्ने चलन छ ।
अब तपाईंको कम्पनीको कुरा गरौं । प्रभु इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो छ ?
हाम्रो वित्तीय अवस्था राम्रो छ । उत्कृष्ट स्थानमा छौं । बिमा शुल्कमात्र ठूलो कुरा होइन । हामीकहाँ त बिमा शुल्क कति उठ्यो, त्यसैको आधारमा मूल्याङ्कन गर्ने चलन छ । लगानीकर्ताले कति लाभांश पाए, खर्चको स्थिति के छ, त्यसका आधारमा मूल्याङ्कन गरिनुपर्छ । बिमा कम्पनीको जग कत्तिको बलियो छ भन्ने पनि हेरिनु पर्छ । नाफाका आधारमा हेरिनु पर्छ । त्यो हिसाबले हेर्दा हाम्रो वित्तीय अवस्था राम्रो छ ।
भावी योजना के छन् ?
आधुनिक प्रविधि प्रयोग गरेर छिटोछरितो बिमाको सुविधा गाँउ–गाउँमा पुयाउने योजना छ । हामीले मोबाइल एप्सको प्रयोग धेरै पहिलादेखि सुरु गरेका हौं । बिमाको दायरा फराकिलो बनाउन देशका कुना काप्चासम्म चेतना बढाउन जरुरी छ । त्यस किसिमले लागि परेका छौं । अहिले केन्द्रीय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरु खोलिसकेका छौं । अझै शाखा खोल्ने तयारीमा छौं ।
वित्तीय अवस्था कस्तो छ ?
चुक्ता पुँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रहेको छ । हालै सम्पन्न वार्षिक साधारणसभाबाट १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । लगानीकर्ताले ५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत ) दिएका छौं ।
प्रभु इन्स्योरेन्सलाई सम्झनु पर्ने कारण के छन् ?
प्रभु इन्स्योरेन्समा बिमा गराउँदा धेरै फाइदा छ । लामो दुरीमा जाँदा गाडी बिग्रियो भने बनाउनका लागि मिस्त्री खटाउने व्यवस्था समेत गरेका छौं । जहाँ जाँदा गाडी बिग्रिए प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा फोन गर्नुपर्छ । जहाँ फोकल पर्सनको व्यवस्था गरिएको छ । उक्त व्यक्तिले मिस्त्रीको व्यवस्था गरेर निःशुल्क गाडी बनाइ दिने व्यवस्था सुरु गरेका छौं ।      गाडी बाटोमा बिग्रियो भने तनाव नहोस् भन्नका लागि यस्तो व्यवस्था गरेका हौं । यस्तो सुविधाले बीच बाटोमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्न मद्दत पुगेको छ ।
कहिलेदेखि यस्तो सुविधा दिन थाल्नु भएको हो ?
गत वर्षदेखि नै यस्तो सेवा दिँदै आएका छौं । वर्कसप अगाडि गाडी बिग्रिए त तनाव हुँदैन । त्यो भन्दा धेरै टाढा बिग्रियो भने तनाव हुन्छ । त्यस्तो तनावबाट मुक्ति दिलाउन यस्तो व्यवस्था गरेका हौं ।