सुनको मूल्य प्रतितोला ८२ हजार ५ सय, साढे ४ हजारले बढ्याे एक सातामै

आर्थिक सञ्जाल आइतबार, २५ फागुन २०७६

काठमाडाैं । गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ । कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रति तोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन २३ गते शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको  थियाे ।

शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको सुनकाे मूल्य आइतबार प्रति तोला ८२ हजार ५ सयमा कायम रहेकाे छ । शुक्रबार एकै दिन १८ सयले बढेर सोही मूल्यमा नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर छ ।

अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर ०. ५ प्रतिशतले घटाएर १. २५ प्रतिशत कायम गरेपछि सुनको मूल्य थप बढेको थियो । अमेरिकाले ब्याजदर घटाउँदा लगानीकर्ता सुनमा आकर्षित हुन्छन्, यसले अन्तर्राष्ट्रिय माग बढ्न गई मूल्यमा दवाव पर्ने गरेकाे छ ।

त्यसबाहेक पछिल्लो समय कोरोनाभाइरसको बढ्दो प्रभावले पनि सुनप्रति लगानीकर्ताको विश्वास बढेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १६७४ अमेरिकी डलर पुगेको छ।

सुनकाे भाउ लगातार बढ्न थालेपछि सुन काराेबारमा भने मन्दी छाएकाे व्यवसायीहरू बताउछन् । अहिले सुनकाे भाउ बढेर काराेबारमा कमी आउदा व्यवसाय धान्न समेत गाह्राे पर्ने अवस्था आएकाे व्यवसायीकाे गुनासाे छ।

यस दिन सुनसँगै चाँदी पनि स्थीर रहेको छ । चाँदी प्रति तोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।